हामीले मोबाइल डाटा खोल्दा माथि स्क्रिनमा 4G देखाउँछ र हाम्रो इन्टरनेट पुरै रफ्तारमा चल्न लाग्छ । नेपालमा त अहिले नेपाल टेलिकमले पुरै ७७ जिल्लामा 4G पुर्याइसकेको छ जसले गर्दा हरेकको हातमा रफ्तारको इन्टरनेट छ । हाम्रो इन्टरनेट अनुभवलाई अझै राम्रो बनाउन अहिले NTC ले 5G सम्म ल्याउने भनेको छ । 5G प्रविधि बिस्तारै हाम्रो जीवनमा लागू हुने हुँदा के हो त 5G भनेर बुझ्न आवश्यक छ । आखिर के हो त 5G?
5G ५ औँ पुस्ताको मोबाइल नेटवर्क हो। यसले यस्तो प्रकारको नेटवर्क सञ्जाल सक्षम पार्छ जुन मेसिन, वस्तु र यन्त्रहरू सहित सबै कुरालाई एकसाथ जोड्नको लागि सक्षम हुन्छ। 1G, 2G, 3G र 4G नेटवर्क पछि अब प्रविधिको अझै विकास हुँदै 5G सुरु भएको हो।
सुरुमा 1G आउँदा त्यसले आवाज कल मात्र समर्थन गर्दथ्यो भने 2G टेलिफोन प्रविधिले एसएमएस, पिक्चर म्यासेज र एसएमएस जस्ता सुविधा दियो । 3G बाट छिटो डेटा-ट्रान्समिसन सम्भव भयो जसबाट भिडियो कलिङ र मोबाइल इन्टरनेट प्रयोग गर्न सम्भव भयो। 4Gले अझै छिटो डाटा ट्रान्समिसन गर्नुको साथै मोबाइलदेखि टिभीसम्म HD, गेमसङ सेवाहरू, भिडियो कन्फरेन्सिङ जस्ता अन्य सुविधाहरू दियो।
आखिर के सुविधा छन् त 5G मा जसले यसलाई अहिले सबैको संवादको विषय बनाएको छ?
5G का फाइदाहरु:
इन्टरनेट स्पिड
5G ले दिने रफ्तार 4G भन्दा १०-१०० गुणा बढी भइदिन सक्छ, जसले गर्दा हामीले केही डाउनलोड गर्न खोजेमा भर्खरै नै डाउनलोड हुन्छ। यसले लगभग १० Gbps को स्पिड दिन्छ भने 4G ले जम्मा १००-२०० Mbps को स्पिड दिन सक्छ।
लेटेंसी
हामीले पठाएको डाटा गन्तव्यमा पुग्न लाग्ने समय वा अन्तैबाट पठाइएको डाटा हाम्रो डिभाइसमा आउन लाग्ने समयलाई लेटेंसी भनिन्छ । 5G को लेटेंसी ५ मिल्लिसेकेंड छ भने 4Gको लेटेंसी २०० मिल्लिसेकेंड हुन्छ, जुन झ्याप्प सुनिदा धेरै फरक नलाग्ला तर यसले प्रविधिमा पार्ने असर धेरै ठुलो हुन्छ।
5G को नयाँ प्रविधिले हाम्रो दैनिक इन्टरनेट अनुभवलाई राम्रो बनाउन मात्र सीमित छैन। 5G द्वारा एआर (AR), भीआर (VR), रिमोट सर्जरी, स्वचालित कार, स्मार्ट सिटी आदि थुप्रै प्रविधि र आविष्कारको बाटो खुल्छ जुन अहिलेसम्म विकसित कुनै पनि मोबाइल नेटवर्कसँग सम्भव थिएन। 5G बाट औद्योगिक स्वचालन सम्भव हुन्छ।
स्वसञ्चालित कारहरूलाई अझै प्रभावकारी बनाउन 5G ले धेरै मद्दत गर्छ। सडक सङ्केत, खतरा र सडक पार गर्ने मानिसहरूको क्रियाकलापबारे गाडीले मिलिसेकेन्डमा सन्देशहरू पठाउन र प्राप्त गर्न सक्नुपर्छ। 5G को लेटेंसी एकदम थोरै भएको हुँदा ती आवश्यक सन्देशहरू एकदम छिटो आउने हुँदा यो प्रविधिले स्वचालित कारको भविष्य सम्भव बनाउन सामर्थ्य राख्दछ।