२३ मंसिर, एजेन्सी। एलन मस्कले ट्विटरको कार्यालयका कोठालाई होटलमा परिणत गरिदिएका छन्। लक्जरी सामानहरू राखिएका ट्विटरको कार्यालयका फोटोहरू सार्वजनिक भएका हुन्।
बिबिसीमा सार्वजनिक एक फोटोमा डबल बेड, दराज सहित एक जोर चप्पल भएको कोठा देखिएको छ। त्यस्तै, ट्विटरका एक पूर्व कर्मचारीले ट्विटर खरिद गरेको दिनदेखि नै मस्क कम्पनीमा नै बसिरहेको बताएका छन्।
गत महिना एलन मस्कले कम्पनीको प्रगतिका लागि थप कडा र लामो समयसम्म काम गर्न निर्देशन दिँदै कर्मचारीहरूलाई इमेल पठाएका थिए।
सान फ्रान्सिस्कोको भवन निरीक्षण विभागले उजुरी पछि नियमहरूको सम्भावित उल्लङ्घनको अनुसन्धान गरिरहेको पुष्टि गरेको छ। तर, मस्कले भने काम गर्दा थाक्ने कर्मचारीहरूका लागि आराम गर्ने व्यवस्था गर्दा पनि आफुमाथि आक्रमण भएको गुनासो गरेका छन्।
मस्कले कार्यालयमा नै सुत्ने र काम गर्ने भन्दै ट्विट गरेका थिए। तर, केही छिनमा उनले उक्त ट्विट डिलिट गरे।
क्यालिफोर्निया राज्यका सिनेटर स्कट विनरले बुधबार बीबीसीलाई मस्कले कर्मचारीहरूलाई ट्विटरमा नै सुत्न बाध्य पारेको बताएका छन्।
विश्वका धनाड्य व्यक्ति मस्कले ट्विटर खरिद गरेको २ महिना पनि पुरा भएको छैन। तर, उनी सोही दिनदेखि विवादमा तानिइरहेका छन्।