काठमाडौँ । सीजी नेटद्वारा उपलब्ध गराइने इन्टरनेट सेवाहरू बन्द भएका छन् । यससँगै नेटका सेवाग्राहीहरू इन्टरनेट पहुँचविहीन बन्न पुगेका छन् ।
कम्पनीको वेबसाइटसहित ग्राहक समर्थन च्यानलहरू, फोन लाइनहरू र अनलाइन च्याट सेवाहरूसमेत बन्द भएसँगै उपभोक्ताहरूले सम्पर्कसमेत गर्न सकेका छैनन् । गुनासो नै पोख्ने ठाउँ नपाएपछि धेरै ग्राहकहरू निराशा र चिन्ता व्यक्त गर्न सोसल मिडियामा गएका छन्। आफूहरू धेरै समयदेखि इन्टरनेटविहीन भएको र कम्पनीबाट कुनै प्रतिक्रिया नगरेको उनीहरूको भनाई छ ।
इन्टरनेटको समस्याबारे कम्पनीले कुनै सम्बोधन गरेको छैन । के कारणले बिग्रेको हो र कहिले बन्छ भन्नेसम्म जानकारी नगराएपछि ग्राहकहरूमा थप अन्यौलता छाएको छ । यसबारे हामीले कम्पनीमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन भने एक बजार प्रतिनिधिसँग गरेको कुराकानीमा प्राविधिक टोलीलाई नै थाहा हुने र आज बिदा भएकोले कुनै सम्पर्क हुन नसकेको बताए ।
९ सय ९९ रुपैयाँमै १२० एमविपिएस गति सहितको योजनाले सुरुवातबाटै चर्चा बटुलेको सीजी नेटले ६ सय ४९ रुपैयामै पचास एमविपिएसको गतिमा इन्टरनेट दिने ‘सुपर सस्तो प्याकेज’ समेत ल्याएको थियो तर यतिबेला भने ग्राहकको फोन नै उठाउन नसक्ने अवस्थामा आईपुगेको छ ।
नेटमा समस्या आउनु नौलो कुरा होइन तर लामो समयसम्म नेट नचल्दा ग्राहकको गुनासो समेत सुनुवाइ नहुनुले लापरबाहीको हदै नाघेको प्रस्ट हुन्छ । त्यति मात्रै होइन, ग्राहकहरूको फोन नै सम्पर्क नहुने गरी बस्नुलाई के भन्ने ? यसबारे सम्बद्ध सरकारी निकायको ध्यान जान जरुरी छ ।