माघ १५ ,काठमाण्डौ। सिजी नेटद्वारा उपलब्ध गराइने इन्टरनेट सेवाहरू ठप्प भए सँगै इन्टरनेट सर्भिस बाट कुनै पनि किसिमका आवश्यक कामकाजहरू गर्न नसकिने भएको छ।
इन्टरनेटमा कुनै पनि किसिमका मोबाइल बैंकिंग, सामाजिक सञ्जाल वा ब्राउजरहरू चलेका छैनन्। इन्टरनेटमा देखिएको उक्त समस्याले ग्राहकको शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत विषयहरूमा बाधा पुराउनुका साथै जनजीवन कष्टकर त बनेको छ नै यसले डिजिटल नेपालको अवधारणाको समेत खिल्ली उडाएको छ।
समस्याबारे बुझ्न ग्राहक सेवा केन्द्रमा फोन उठेको छैन भने उक्त सेवा प्रदायकका एक कर्मचारीका अनुसार सर्भरमा समस्या देखिएकोले सेवा सुचारु हुन् अझै केही घण्टा लाग्ने छ भने समस्याको पूर्णकालीन समाधानका लागि के हुँदै छ भन्ने बारेमा आफू अनविज्ञ रहेको कुरा समेत उहाँले बताउनुभएको छ।
सेवा सुचारुका दिन देखिनै उक्त सेवा प्रदायकको सेवामा कुनै न कुनै समस्या न आएको दिन सायद बिरलै होला, त्यति मात्रै हैन ग्राहकहरूको फोन नलाग्ने, नउठ्ने र समयमा समस्या समाधान नहुने कुरा त दैनिकी जस्तै बनिसकेका छन्।
प्रविधिको उच्चतम प्रयोग गर्ने र भए मध्येका सेवा प्रदायक भन्दा उत्कृष्ट बन्ने भनेर सुरु गरेको उक्त इन्टरनेट पनि आज सम्मको यात्रामा हाँसोको पात्र मात्रै बनेको छ। सिजी नेटमा यस्ता समस्या एक दिन दुई दिन नभएर प्राय: संधैजसो आउने गरेको देखिन्छ भने समाधानको कुनै उपाय खोजिएको बुझिएको छैन। गत हप्ता पनि यस्तै समस्या आएका कारण ग्राहकहरूको असन्तुस्टी चरम बिन्दुमा पुगिसकेको छ।
कतिपय ग्राहक उपभोक्ताहरूले त सिजी नेटको यस्तो चरम समस्याका कारण अन्य सेवा प्रदायकहरू खोज्न समेत सुरु गरिसकेको पाइएको छ।
तत्कालीन इन्टरनेट सेवा प्रदायकहरू महँगो भएको र राम्रो सेवा दिन नसकेको भन्दै चौधरी ग्रुपले सुरु गरेको उक्त सिजी नेटको हाल भने अझ उद्देक्लाग्दो देखिएको छ। पटक पटक बनेका अस्थिर सरकारको संरक्षण पाएको चौधरी ग्रुपले खुलेआम लुटतन्त्र मच्चाउँदा समेत सबै पक्ष मौन देखिएका छन् भने गुणस्तरको कुनै सर्वेक्षण वा निरीक्षण त निकै परको कुरा भैसकेको छ।