२९ फागुन, पोखरा। पोखरा महानगरपालिकाले आफ्नो सातौँ स्थापना दिवसका अवसरमा जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालय, कास्कीलाई दुई विद्युतीय स्कटुर र तीन साइकल प्रदान गरेको छ ।
आइतबार सभागृहमा आयोजित समारोहमा महानगरप्रमुख धनराज आचार्यले प्रहरी कार्यालयका प्रतिनिधिलाई स्कुटरको चाबी हस्तान्तरण गरेका हुन् । ट्राफिक व्यवस्थापनसँगै सुरक्षा प्रबन्धमा सहयोग पुर्याउने उद्देश्यले महानगरले स्कुटर र साइकल दिएको हो । सोही अवसरमा महानगरको सरसफाइलगायत अभियानमा सहयोग पुर्याएका विभिन्न कार्यालय, सङ्घसंस्था र व्यक्तिलाई सम्मानसमेत गरेको थियो । महानगरमा ३० वर्षभन्दा बढी सेवा गरेका २६ कर्मचारीलाई दीर्घसेवा पदकद्वारा सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिए ।
वर्षभरिमा सर्वोत्कृष्ट कार्यसम्पादन गर्ने आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियालाई रु २५ हजारसहित पुरस्कृत गरिएको थियो । उत्कृष्ट कर्मचारीका रुपमा १० जनालाई रु १५ हजारसहित पुरस्कृत गरिएको महानगरले जनाएको छ । समारोहमा बोल्दै प्रमुख आचार्यले पोखराको समृद्धिका लागि आधार तयार भएको बताए ।
बढ्दो जनअपेक्षा पूरा गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले अल्पकालीन र दीर्घकालीन योजना बनाएर विकासको काम थालिएको उल्लेख गरे । विकास निर्माणसँगै सेवा प्रवाहलाई चुस्त बनाउन महानगरमा एकद्वारा प्रणाली अपनाइएको उनको भनाइ छ । आगामी बजेट तथा कार्यक्रमलाई परिणामुखी बनाउन वडा तहबाटै ‘प्रोजेक्ट बैंक’ बनाएर काम गरिने प्रमुख आचार्यले बताए ।