नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा क्यान महासंघबाट निवर्तमान अध्यक्ष नवराज कुँवरले उम्मेदवारी प्रस्तुत गरेका छन् । केन्द्रीय कार्यसमिति सदस्य पदमा १२३ वस्तुगत संघहरूको तर्फबाट उनले उम्मेदवारी प्रस्तुत गरेका हुन् । उनले विभिन्न बुँदासहित उनको उम्मेदवारी र प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । चैत्र २८ र २९ गते महासंघको निर्वाचन हुँदैछ ।
यस्तो छ कुँवरको प्रतिबद्धतापत्र
- आईसीटी कुनै व्यवसाय वा सुविधा होइन, यो त आधुनिक विकासको पूर्वाधार हो जसको जगमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सञ्चार, उद्योग व्यवसाय, सम्बन्ध र ज्ञान उभिएका छन् । यही अत्यावश्यक सेवाको जगमा सबै उद्यम र व्यवसाय फस्टाएका छन् । यसर्थ यसको विकास, विस्तार तथा प्रवद्र्धनका लागि निजी क्षेत्रमैत्री नीति नियम बनाउनका लागि सरकारसँग सहकार्य गर्न ।
- डिजिटल साक्षरता बढाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायत अन्य पेमेण्ट भेण्डर तथा अनलाइन व्यवसायसँग समन्वय र सहकार्य गर्न ।
- नेपालमा मोबाइल सेवा तथा इण्टरनेट सब्स्क्राइब गर्नेको संख्या मुलुकको कुल जनसंख्याको अनुपातमा क्रमशः २७ र ३१ प्रतिशतले बढी भए पनि त्यसको व्यावसायिक विकास भने हुन सकेको छैन । यस्तो अवस्थामा त्यसको प्रभावकारी विकास र प्रयोगका लागि नेपाल उद्योग वाणिज्य महासंघ, सरकार र सम्बन्धित क्षेत्रका नियामक र उद्योग व्यवसायसँग समन्वय र सहकार्य गर्न ।
- अत्यधिक करका कारण नेपालको इण्टरनेट सेवा दक्षिण एशियामै महँगो बनेको छ । त्यसैले सूचना तथा सञ्चार प्रविधि नीति २०७२ मा उल्लेख गरे अनुसार सूचना तथा सञ्चारलाई सबैको पहुँचयुक्त र क्रयशक्ति योग्य बनाउन । सूचना तथा सञ्चार प्रविधिमार्फत दिगो, फराकिलो तथा समावेशी आर्थिक एवम् सामाजिक विकासमा योगदान दिन ।
- आईसीटी सेवा तथा व्यवसायलाई सम्बोधन गर्ने गरी डिजिटल साक्षरता बढाउन, त्यसमा सरकारलाई परामर्श दिन एवम् सो कार्यमा नेपाल उद्योग वाणिज्य महासंघको सहभागितालाई अझ प्रभावकारी र नतिजामूलक बनाउन ।
- नेपाललाई प्रविधिको पहुँच र प्रयोगमार्फत डिजिटल विकासको दिशामा लैजान कार्यान्वयनमा ल्याइएको डिजिटल नेपाल फ्रेमवर्क र सूचना तथा सञ्चार प्रविधि नीति २०७२ जस्ता नीति तथा कार्यक्रमको कार्यान्वयनमा सरकारलाई सघाउन । र, सो क्रममा निजी क्षेत्रका व्यवसायको हित सुनिश्चित हुने गरी नीति कार्यान्वयन गर्न सम्बन्धित निकायलाई घच्घच्याउन ।
- नेपालमा डिजिटल अर्थतन्त्रको भविष्य र अर्थसामाजिक संभावना बारेको रोडम्यापबारे भिजन निर्माण गर्न सरकारलाई सघाउन । व्यावसायिक संभावनाको विस्तार गर्न र नीतिगत सुधार तथा विकासका लागि सरकार तथा व्यवसायीलाई सुझाव दिन तथा त्यसका लागि राष्ट्रिय र अन्तरराष्ट्रिय संघसंस्थासँग सकार्य गर्न ।
- नेपाल उद्योग वाणिज्य महासंघले निर्माण गरेको र नेपाल सरकारले इन्डोर्स गरेको राष्ट्रिय आर्थिक रुपान्तरण २०३० को कार्यान्वयनमा सूचना प्रविधिको प्रयोगलाई अझ घनीभूत बनाउन ।
- बैंकिङ, युटिलिटी पेमेण्ट, यातायात र राजस्वलाई पूर्णरुपमा डिजिटलाइज्ड गरी व्यवसायिक विकासमा सहयोग गर्न सक्ने बनाउन । मानिसहरु बैंकसम्म जानै नपर्ने, कुनै पनि आर्थिक कारोबारमा खल्तीबाट नगद झिकेर बिल भुक्तानी गर्नु नपर्ने र सकेसम्म पैसालाई भौतिकरुपमा देख्नै नपर्ने अवस्था सिर्जना गर्ने दिशामा काम गर्न ।
- सूचना प्रविधि सम्बन्धि सामान एवं सेवा आयात, निर्यातमा देखिएको समस्या तथा ब्रोडव्याण्ड कनेक्टिभिटि सञ्चालनमा रहेको अव्यवहारिक कर नितिका सम्बन्धमा तथा इकमर्स व्यवसाय सञ्चालनमा व्यवसायीका हितको रक्षा गर्न ।
- सूचनाप्रविधि क्षेत्रमा ठूलो संभावना रहे पनि त्यसलाई उपयोग गर्न सकिएको छैन । त्यस संभावनामा व्यावसायिक विकासका लागि सरकार र निजी क्षेत्रवीच वृहत्तर सहकार्य तथा सहमति निर्माण गर्न ।
- नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत, जिल्ला तथा नगर संघहरुलाई सूचनाप्रविधिमा अझ सबल बनाउन । महासंघका गतिविधि तथा सेवालाई पूर्णतः सूचना प्रविधिमैत्री बनाउन । बस्तुगत संघ, जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुलाई सूचना प्रविधि नेटवर्कमार्फत जोडी प्रभावकारी र वृहत राष्ट्रिय सञ्जालको विकास गर्न ।
- जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, संस्थागत सदस्य तथा द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुवीच प्रविधिमार्फत अन्तक्र्रिया बढाउन ।
- सूचना प्रविधि तथा सम्बन्धित व्यवसायमा स्वदेशी तथा विदेशी लगानी आकर्षित तथा प्रवद्र्धन गर्न । प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघमा हाल भएको संरचनालाई अझ प्रभावकारी बनाउनका लागि सूचना गेटवे निर्माण गर्न र सञ्चालन गर्न ।
- सम्भावित वातावरणीय, आर्थिक, सामाजिक तथा प्रविधिको क्षेत्रमा आउने चुनौतिको सामना गर्ने खालका खोज तथा अनुसन्धानलाई प्रोत्साहित गर्न । यस क्षेत्रमा जनशक्ति विकास गरी निजी उद्यमलाई सघाउन ।
- सञ्चार तथा सूचना प्रविधिमा आधारित साना उद्योग तथा कृषि, स्वास्थ्य तथा अन्य स्थानीय उद्यमको प्रवद्र्धनका लागि कार्य र सहकार्य गर्न । सूचना प्रविधिको प्रयोगमार्फत साना तथा मझौला उद्यमहरुको उत्पादनशीलता, गुणस्तर र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न ।
- विभिन्न क्षेत्रका लागि अत्यावश्यक मानिएको प्रविधि हस्तान्तरणमा स्वदेशी तथा विदेशी कम्पनीहरुवीच सम्बन्ध तथा सहकार्य विस्तार गर्न र सो मार्फत विदेशी लगानी प्रवद्र्धन गर्न ।
- स्टार्टअप तथा इन्क्यबेटर प्रोजेक्टको प्रवद्र्धनमार्फत युवामा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा उद्यमशीलता विकास गर्न ।