शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा समस्या देखिएको छ । बिहीवार बिहानदेखि समस्या देखिएको भएतापनि मन्त्रालय भने यसबारे बेखबर छ ।
www.moest.gov.np खोल्दा अनरिचेबल आउने गरेको छ । मन्त्रालय र यसबारे जानकारी लिन चाहनेहरू साइट नखुल्दा मर्कामा पर्ने गरेका छन् ।
साइटमा आएको समस्याका कारण मन्त्रालयसँग सम्बन्धित अन्य सेवाहरू लिने सेवाग्राहीलाई पनि मर्का परेको छ।
यसबारे मन्त्रालयलाई केही थाहा छैन। सूचना अधिकारी शंकर अधिकारीले शुरूमा साइटमा समस्या नदेखिएको बताएका थिए। तर उनी आफैंले साइट खोल्ने प्रयास गर्दा नखुलेपछि आइटी शाखामा सम्पर्क गरेर जानकारी लिन आग्रह गरे।
नेपाल सरकारका सबै वेबसाइटहरू गभर्नमेन्ट इन्ट्रीग्रेटेड डाटा सेन्टरले हेर्ने गर्छ। तर पनि पटक-पटक अन्य वेबसाइटहरूमा पनि यस्ता समस्याहरू देखिने गरेका छन्।
सूचना प्रविधिको क्षेत्रमा फड्को मार्ने सरकारी नीति भएता पनि वेबसाइटमा देखिने यस्ता सामान्य समस्याहरू हल गर्न कर्मचारीहरू उदासीन देखिएका छन्।