© 2021-2024
१० भदाै, काठमाडाैँ । पछिल्लो समय आफ्नो व्यक्तिगत रुचिमा आधारित करियर परिवर्तन गर्ने ट्रेन्डजस्तै बनेको छ । कोही आफ्नै पेशामा रमाउछन्, कोही समयको मागअनुसार केही नयाँ रुचितिर लाग्छन् ।
यस्तै फरक पृष्ठभूमिबाट आएका सन्तोष एक उदाहरणीय पात्र बन्न सफल भएका छन् । उनि पूर्णरुपमा फरक क्षेत्रमा सफलतापूर्वक काम गर्दै आएका छन् । पर्वतमा जन्मिएका सन्तोष बुटवलको भालवारीमा हुर्किएका हुन् ।
एसएलसी सकाएर भारतको बैङ्लोर गइ मेकानिकल इन्जिनिएरमा डिप्लोमा गरेका सन्तोषले केही समय भारतमै जागिर गरे । दुई वर्ष भारतमा अध्ययन अनुसन्धानमा काम गरेर नेपाल फर्किए ।
मेकानिकल इन्जिनियर पढेका उनलाई सामाजिक सञ्जालको बारेमा त्यति बढी जानकारी थिएन । नेपालमा सामान्य एडमिनको रुपमा सामाजिक सञ्जाल चलाउन थाले । सामाजिक सञ्जालमा रुचि बढ्न थालेपछि उहाँले आफ्नो ध्यान सामाजिक सञ्जालमा केन्द्रित गरे । इन्जिनियरतर्फ उनको ध्यान गएन ।
फरक क्षेत्रमा आफ्नो भविष्य बनाउन त्यति सजिलो त थिएन । उनको एडमिन बन्ने यात्राको सुरुवात सामाजिक सञ्जालमा पोस्ट गरिएका कन्टेन्टमा भ्युज बढाउनेबाट भएको थियो । पेजमा लाइक बढाउने, सबै युजर्स माझ कन्टेन्ट पुगाउने काम गर्न थाले ।
उनको रुचि अडियन्स इङेजमेन्ट, एकाउण्ट भ्यालिडेसन, सेक्युरेटी इस्यु, मोनीटाइजेसनतर्फ मोडियो । उनले भने, “सुरुवातका दिनमा धेरै समय कम्प्युटरमा सोसल मिडिया म्यानेजमेन्टसँग सम्बन्धित लेख, टुटोरियल हेर्थें, विस्तारै सिक्दै र गल्तिहरु पनि पहिल्याउँदै गएँ ।”
काम गर्दैजाँदा बिस्तारै अन्य ‘पब्लिक फिगर’ हरुद्वारा सामाजिक सञ्जाल व्यवस्थित गरिदिन प्रस्ताव आएको उनले बताए । झट्ट सुन्दा अनौठो र आकर्षक लाग्ने यो पेशामा रमाएका सन्तोषले हालसम्म थुप्रै सेलिब्रेटीको धेरै पृष्ठहरू ह्यान्डल र व्यवस्थापन गरेका छन् ।
कलाकार अर्जुन सापकोटा, शिरीष देवकोटा, विमल अधिकारीदेखि साइग्रेस पोख्रेल, अनिल गुरुङ, क्रिकेटर कुशल भुर्तेलसम्मको सामाजिक सञ्जालको मोनिटराज्ड गरेका छन् । पछिल्लो चार वर्षदेखि जागीर र आम्दानीको स्रोत फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल व्यवस्थापन बनेको उनको भनाइ छ ।
उनले भने, “चार वर्षदेखि एक फ्रिलान्स सामाजिक सञ्जाल प्रबन्धकको रूपमा काम गरिरहेको छु, म विश्वस्त छु कि हामीले मेहनत र धैर्यतापूर्वक काम गरेमा यो क्षेत्र उच्च गुणस्तरको जीवनयापनको राम्रो आर्थिक स्रोत बन्न सक्छ ।”
प्रबन्धक भइ सक्रिय रूपमा काम गरिरहेका सन्तोषको संघर्ष पनि त्यति नै कठिन थियो । नेपालजस्तो देशमा सोसल मिडिया म्यानेजर भन्ने पेसा बुझ्न र बुझाउन नै चुनौतीपूर्ण रहेको उनको अनुभव छ ।
यो क्षेत्रको पहिलो चुनौती भनेको साइबर सेक्युरेटी मनिटरिङको काम हो, ह्याकिङ, फिसिङबाट बचाउनु रहेको उनले अनुभव सुनाए । फेक प्रोफाइलले समस्या निम्त्याउँछ, विशेषगरी ‘पब्लिक फिगरका’ सोसल मिडिया म्यानेज गर्दा समस्या आउने गरेको उनले बताए ।
नीतिगत रुपमा पनि यो पेसा अगाडि बढाउन गाह्रो रहेको उनले बताए । उनका अनुसार नेपालमा फेसबुक र इन्स्टाग्रामलाई मुद्रीकरण गर्न गाह्रो छ । अब उनले आफूलाई बाहिरी देशको पनि सामाजिक सञ्जाल व्यवस्थापन गर्ने इच्छा रहेको बताए ।
“सुरुमा सोसल मिडिया म्यानेजरको रूपमा काम गर्नु मानिसलाई बुझ्न धेरै चुनौतीपूर्ण थियो, तर आज क्रमशः परिवर्तन भइरहेको छ” उनले भने, “नयाँ प्रविधिको प्रयोगले राम्रो ज्ञान प्राप्त भइरहेको छ र सँगसँगै बाँच्नलाई आम्दानीको स्रोत पनि । – गोरखापत्र