© 2021-2024
काठमाडौं। नागरिक एपमा नयाँ अपडेट आएको छ । बिहीबार आएको २.०.२८ भर्सनको अपडेटमा ड्राइभिङ लाइसेन्स साथमा बोक्नुपर्ने बाध्यता हटाउने सुविधा थपिएको हो ।
नागरिक एप अपडेट गर्दा वा डाउनलोड गर्दा लाइसेन्ससँगै क्यूआर पनि देखिने भएको छ । त्यसबाहेक ट्राफिक नियम उल्लंघन गरेको विवरण समेत सवारी चालक अनुमतिपत्रको सेक्सनभित्र देखिने भएको छ ।
नयाँ अपडेटसँगै नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमतिपत्र) भित्र जाँदा तपाईंको सवारी चालक अनुमतिपत्रको फोटोसँगै एउटा क्यूआर कोड समेत देख्न सक्नु हुनेछ । सो क्यूआर कोड स्क्यान गरी ट्राफिक प्रहरीले तपाईंले देखाएको लाइसेन्स आधिकारिक हो वा होइन भन्ने कुरा यकिन गर्न सक्नेछन् ।
यातायात व्यवस्था विभागलाई लाइसेन्स छाप्न जटिलता भइरहेका बेला अब अनलाइनबाटै ‘डिजिटल लाइसेन्स’लाई ट्राफिक प्रहरीले अनुमति दिने गरी प्रक्रिया अघि बढेको छ । नागरिक एपमा लाइसेन्ससँगै देखिने क्यूआरलाई ट्राफिक प्रहरीले आफूसँग भएको एपमार्फत स्क्यान गरेर पूर्ण विवरण प्राप्त गर्नसक्ने भएको हो ।
आईफोन तथा अन्य आईओएस डिभाइसहरूका लागि भने यो अपडेट उपलब्ध हुन केही दिन लाग्ने बताइएको छ । यद्यपि गुगल प्ले स्टोरमा नयाँ अपडेट आएसँगै केही प्रहरी युनिटहरूले यसको टेस्टिङ समेत सुरु गरिसकेको स्रोतले बतायो ।
“केही दिन पाइलटिङको रूपमा प्रयोग गरेर आउन सक्ने प्राविधिक समस्याहरू यकिन गरी समाधान गर्ने काम हुन्छ,” स्रोतले टेकपानासँग भन्यो, “त्यसपछि प्रधानमन्त्री स्तरबाटै यसको औपचारिक घोषणा गर्ने तयारी छ ।”