एजेन्सी। इन्टरनेट कम्पनी मेटाले फेसबुक, इन्स्टाग्राम, थ्रेड्स र व्हाट्सएपमा अमेरिकामा तथ्य जाँच (फ्याक्ट चेकिङ) प्रोग्राम बन्द गर्ने निर्णय गरेको छ। यसको ठाउँमा कम्युनिटी नोट भन्ने अप्सन रहने मेटाले जनाएको छ।
फेसबुकमा निष्पक्ष तेस्रो पक्षका संस्थाहरूले विभिन्न टीकाटिप्पणीमाथि तथ्य जाँच गर्दै आएका छन् । विभिन्न देश र क्षेत्रका लागि भ्रामक सूचना जाँच्न मेटाले निष्पक्ष अन्तर्राष्ट्रिय तथ्य जाँच नेटवर्क (आईएफसीएन)सँग मेटाको सम्झौता छ ।
कम्पनीले युरोपेली तथ्य जाँच मानक नेटवर्क (ईएफसीएसएन)सँग पनि काम गर्ने गरेको बताएको छ । अब अमेरिकामा भने यी तेस्रो पक्षका संस्थाहरूलाई तथ्य जाँचबाट हटाउने मेटाले बताएको हो । यसको ठाउँमा कम्युनिटी नोट भन्ने अप्सन रहने मेटाले जनाएको छ ।
सामाजिक सञ्जाल एक्समा जस्तै कम्युनिटी नोटमार्फत भ्रामक सूचनामा अन्य प्रयोगकर्ताले वास्तविकता के हो भनेर लेख्न सक्छन् । मेटाले तथ्यजाँचकर्तालाई हटाउने नीति ल्याएसँगै यसका सामाजिक सञ्जालमा अब भ्रामक सूचना र सामाजिक द्वेष फैलाउने टीकाटिप्प्णी बढ्ने चिन्ता गरिएको छ ।