१५ भदाै, काठमाडाैँ । वेबसाइटमा वेब पृष्ठहरू, विभिन्न फोटो, भिडियो र अन्य मल्टिमिडिया सामग्रीहरू प्रदर्शन हुन्छ। यसलाई यूआरएल द्वारा पहुँच गर्न सकिन्छ। हरेक वेबसाइटको आफ्नै छुट्टै नाम / डोमेन नाम र IP ठेगाना हुन्छ।
वेबसाइटहरू विशेष गरेर दुई प्रकारका भेट्न सकिन्छ। स्थिर वा स्टाटिक वेबसाइटमा कुनै पनि देखाइने सामग्री परिवर्तन हुँदैन भने गतिशील वा डाइनामिक वेबसाइटमा भने त्यहाँ देखाइने सामग्रीहरू समय समयमा परिवर्तन भइरहन्छन्।
आज हामी यी दुई बिचका मुख्य अन्तरहरू बारे चर्चा गर्ने छौ।
स्थिर वा स्टाटिक वेबसाइट
प्राय जसो तपाइ हामीले इन्टरनेट खोल्दा भेटिने वेबसाइटहरू स्टाटिक नै हुन्छन्। यसलाई बनाउँदा HTML, CSS र JavaScript को प्रयोग गरिन्छ।
यसमा सुरुबाट नै देखाउन पर्ने जानकारी र सामग्रीहरू राखेर बनाइएको हुँदा यसलाई सर्भरले केही परिवर्तन गर्नु पर्दैन। यसले गर्दा यो एकदमै छिटो पनि काम गर्दछ।
यसमा कुनै डाटाबेसको पनि प्रयोग हुँदैन किनकि सबै डाटा यसलाई बनाउँदा नै पहिले नै राखिसकेको हुन्छ। यस्तो वेबसाइट बनाउँदा खर्चिलो हुँदैन किनकि यसमा सर्भरको कुनै काम नहुने हुँदा सर्भरको प्रोसेसिङको खर्च बच्छ।
तपाइले जति पटक यो वेबसाइट खोले पनि यसमा देखाउने सामग्री फेरिँदैन।
डाइनामिक वेबसाइट
यो यस्तो प्रकारको वेबसाइट हो जसमा देखाइने सामग्री बारम्बार परिवर्तन भइरहन्छ। यस्तो खालको वेबसाइटमा दुई भाग भेट्न सकिन्छ।
एउटा भाग हामी प्रयोगकर्ताले हेर्न सक्छौ भने अर्को भाग त्यो वेबसाइटको हकदार वा त्यसको जिम्मा लिएकोले हेर्न र त्यहाँको सामग्री परिवर्तन गर्न सक्दछ।
यसको सामग्री परिवर्तन गर्न कुनै विशेष कोडको ज्ञान हुनु आवश्यक छैन। यसको लागि त्यही दिइएको अप्सनहरुबाट परिवर्तन गर्न सकिन्छ।
जस्तै यदि तपाइले वर्ड प्रेस प्रयोग गर्नु हुन्छ भने त्यसमा युजरले त्यो वेबसाइट हेर्न सक्छ भने त्यो कम्पनीले त्यो वेबसाइटको ड्यासबोर्ड हेरेर आवश्यक फेरबदल गर्न सक्छ।
नयाँ सामग्री हाल्न केवल नयाँ पोस्ट वा पेजको अप्सनमा गए पुग्छ। नयाँ फोटो हाल्ने आफ्नै छुट्टै अप्सन हुन्छ।
यसको विशेषता
यस्तो वेबसाइटको लागि PHP जस्तो सर्भर भाषा आवश्यक पर्दछ। तपाइको वेबसाइटले सर्भरसँग मुख्य डाटा लेनदेन गर्दछ र आवश्यक जानकारी प्रयोगकर्तालाई देखाउँछ। त्यसै गरी यसको सबै डाटा जम्मा गरेर राख्न डाटाबेसको आवश्यकता पर्दछ।
यस्तो वेबसाइटले प्रयोगकर्ताको आवश्यकता बुझेर त्यही अनुसारको जानकारी देखाउँछ। यहाँ तपाइको स्थान, आवश्यक सामान, खर्च रकमको अन्दाज अनुसार तपाईँलाई त्यही अनुसारको डाटा देखाउँछ।
गतिशिल वेबसाइट बनाउन खर्चिलो हुन्छ किनकि यसको लागि सर्भरसँगको प्रोसेसिङ सिस्टम र डाटाबेसको आवश्यकता पर्दछ।
फेसबुक पनि एउटा गतिशील वेबसाइट नै हो। यसमा तपाइले चाहेको समयमा आफ्नो तस्बिर फेर्न सक्नु हुन्छ। नयाँ पोस्ट राख्न तपाईँलाई कुनै कोड चाहिँदैन। यसले समय समयमा पोस्टहरू फेरिरहन्छ। हामीले अहिले हेर्ने कुरा अहिले एक छिनमा परिवर्तन भइसक्छ।
वर्ड प्रेस गतिशिल वेबसाइट बनाउने सबैभन्दा प्रचलित माध्यम हो।