POS Machine के हो ? कसरी प्रयोग गर्ने ?
तपाईँले पसलमा गएर सामान खरिद गरिसके पछि एउटा सानो हातमै अटाउने मेसिनमा एटिएम कार्ड राखेर स्वात्तै तानेपछि रकम बुझाउने काम त्यसै मेसिनमार्फत पूरा गरी सामान लिएर फर्कनुहुन्छ।
पेट्रोल पम्प, रासन पसल, मल, सामान्य पसल, बैङ्कका शाखा आदिमा यस्ता मेसिनहरू पटक पटक देख्नु भएको पनि हुनुपर्छ । यस्ता कार्ड स्विप गर्ने मेसिनलाई POS मेसिन भनिन्छ। POS एउटा कम्प्युटराइज्ड मेसिन हो। यो क्यास रजिस्टरको ठाउँमा प्रयोग गरिन्छ। POS मेसिनले डेबिट/क्रेडिट कार्ड पढ्न, गुनासो पुष्टि गर्न र ग्राहकलाई सामानको रसिद दिने काम गर्दछ।
POS मेसिनले पैसाको लेनदेन मात्र नगरेर ग्राहकहरूलाई किनमेलको चिर्कटो (Purchase Receipt) समेत दिन्छ। र यो सबै काम केही मिनेटमै पूरा हुन्छ। यस मेसिनले पैसा गन्दा चिप्लने, नोट चप्किने जस्ता यावत समस्याहरूबाट पनि छुटकारा दिलाएको छ।
POS टर्मिनलले सधैँ निम्न कार्यहरू सम्पादन गर्दछ।
– डेबिट/क्रेडिट कार्ड प्रोसेसिङ
– भुक्तानी प्राप्त गर्न सकिने
– Purchase Receipt प्राप्त गर्न सकिने
तर यी तिन प्रमुख कार्यहरूको बाहेक, पसलको प्रकार र व्यापारको प्रकृतिअनुसार POS को काम पनि परिवर्तन हुन्छ। उदाहरणका लागि, खेलौना पसलमा रहेको POS टर्मिनल होटेल/रेस्टुरेन्ट POS प्रणालीभन्दा फरक हुन्छ। तथापि, तिनीहरूको आधारभूत संरचना र कार्यमा कुनै परिवर्तन हुँदैन।