यो लकडाउनको समयमा तपाईँ सबैले एक त एक पटक त कोडिङ वा वेभ डेभलपिङ सिक्नु भएको होला। अहिलेको समयमा प्राय सबै विद्यार्थीहरूले वेबसाइट बनाउन आउँछ या सिक्दै छु भनेको पनि सुन्नु भएकै होला। आखिर कसरी बनाउन मिल्छ त वेबसाइट अनि कसको जिम्मा हुन्छ त वेबसाइट बनाउने?
वेभ डेभलपर एउटा यस्तो व्यक्ति हो जसले कोड प्रोग्रामिंगको मद्दतले वेबसाइट बनाउँछ। उनीहरूले वेबसाइट कसरी कार्य गर्छ भनेर बताउने काम गर्छन्। वेबसाइट भित्रका प्रक्रियाहरू पनि उनीहरूले नै निर्माण गर्छन्।
वेभ डेभलपर हुनु फिटिक्कै पनि सजिलो हुँदैन। टिभी या चलचित्रमा देखाइने वेभ डेभलपरले जस्तो सररर लेखेर कोही राम्रो वेभ डेभलपर बन्न सक्दैन। एउटा सक्षम वेभ डेभलपर बन्नुको लागि वेबसाइटको सिँगार पटारदेखि लिएर भित्री प्रक्रियाहरूको सही रूपमा कार्य बुझ्नु आवश्यक छ। त्यति मात्र नभएर उनीहरूले हामीले बुझ्ने भाषा लिनुपर्छ र यसलाई कम्प्युटरले बुझ्ने भाषामा अनुवाद गर्नुपर्छ।
फ्रन्ट इन्ड डेभलपर र ब्याक इन्ड डेभलपर दुई प्रकारका वेभ डेभलपरहरु हुन्। फ्रन्ट इन्ड डेभलपरले वेबसाइटको बाहिरी भाग मिलाउँछ। उनीहरूको प्रमुख जिम्मेवारी वेबसाइट आगन्तुकहरूले पृष्ठसँग सजिलै अन्तरक्रिया गर्न सक्छन् भनेर सुनिश्चित गर्नु हो। त्यसै गरी ब्याक इन्ड डेभलपरले वेबसाइटको पछाडिको निर्माण र हेर देखको जिम्मा लिन्छ।
आखिर के विषयहरू सिक्न र जान्न आवश्यक छ त वेब डेभलपरलाई?
१. HTML / सीएसएस (CSS) / जेएस ( JAVA SCRIPT)
हरेक विकासकर्ताले सबैभन्दा पहिले सिक्नु पर्ने सिप वा ज्ञान नै यी तिन विषयमा हो। यी तीन आधारहरू अर्थात् HTML, सीएसएस र जाभा स्क्रिप्ट हुन्।
- तपाईँले फ्रन्ट इन्डको निर्माणमा HTML र सीएसएस (CSS) प्रयोग गर्नुहुनेछ। तपाईँले धेरै HTML ट्यागहरू विभिन्न उद्देश्यहरूको लागि प्रयोग गर्न सक्नुहुन्छ। वेबसाइटमा अनुच्छेद कसरी लेख्ने, कता वाक्य छुट्टाउने, लेखिएको चिजलाई कसरी मिलाएर राहने जस्ता कुराहरु पर्दछन्।
- सीएसएस (CSS) को प्रयोग वेबसाइटका धेरै भागहरूको शैली, डिजाइन, ले आउट र कसरी HTML तत्त्वहरू स्क्रिनमा प्रदर्शन गर्ने भनी निर्णय गर्दछ।
- जाभा स्क्रिप्ट आजकल मागमा एकदम उच्च छ। तपाईँको HTML पृष्ठहरू अन्तरक्रियात्मक बनाउनको लागि यो जिम्मेवार हुन्छ।
२. गिट र गिटहब
यो एउटा वेब विकासकर्ताको रूपमा जान्नै पर्ने महत्त्वपूर्ण विषय हो। यसले तपाईँलाई तपाईँको सबै कोडका कार्यहरू एकै स्थानमा व्यवस्थापन गर्न मद्दत गर्दछ। यसबाट हामीले आफ्नो कार्यलाई भण्डारण गर्नुको साथ साथै साथीहरूसँग वा टोली सदस्यसँग साझेदारी गर्न सकिन्छ।
३. ब्राउजर डेवटूल्स
लेख्ने बेलासम्म मस्त लेख्ने अनि अन्तिममा गएर एउटा सानो गल्तीले पुरै कोड नै नचल्ने पिर एउटा वेब डेभलपरलाई मजाले थाहा हुन्छ। यस्तो समस्या बारम्बार नआओस् भनेर देवटुल्सहरुको निर्माण भएको हो। क्रोम देव उपकरणहरूको आवश्यकता आउँछ।
तपाईँ ब्राउजर डेभटूलहरू प्रयोग गरेर धेरै चीजहरू गर्न सक्नुहुन्छ। जस्तै डिबगिंग, HTML तत्त्वहरू सम्पादन, सीएसएस गुणहरू सम्पादन जस्ता कार्यहरू तपाइले ब्राउजर डेवटूल्समा गर्न सक्नुहुन्छ।
४. समस्या समाधान र खोजी
यदि तपाईँ वेब विकासकर्ता भएर काम गर्न चाहनुहुन्छ भने तपाईँसँग निश्चित रूपमा केही समस्या समाधान र खोज कौशल आवश्यक हुन्छ। डाटा संरचनाहरू र एल्गोरिदमको माध्यमबाट, चुनौती, पजलजस्ता समस्याको समाधान गर्न सहज हुन्छ। तपाईँ यो सीपमा पोख्त हुनु आवश्यक छैन तर महत्त्वपूर्ण कुरा यो हो कि तपाईँ ती सीपहरू प्राप्त गर्न अभ्यास गरिरहनुहुन्छ।
५. फ्रेम वर्क
फ्रेम वर्क एउटा यस्तो फ्रेम हो जसमा तपाईँ आफ्नो वेबसाइट अझै छिटो अनि सरल तरिकाले बनाउन सक्नुहुन्छ। यो सामान्यतया एक पुस्तकालय वा सफ्टवेयरको केही टुक्रा जस्तै हो। प्रोग्रामरले काम गर्दा सुरुबाट नै सुरुवात गर्न आवश्यक छैन जब कि तपाईँसँग उपकरणहरू छन्।
६. कोडको रिफैक्टरिंग (Refactoring)
रिफ्याक्टरिङको अर्थ तपाईँको कोडलाई अनावश्यक कोडबाट बचाएर छोटो पार्नु हो। यसबाट तपाइले प्रोजेक्टमा प्रयोग नगरिएको कोडहरू निकाल्नु हुन्छ। यसो गर्दा तपाईँको कोड सफा हुनुको साथ साथै अरूले बुझ्न योग्य पनि बन्छ।