काठमाडौँ। चिनियाँ न्यू इनर्जी भेहिकल निर्माता एलएस अटोले आफ्नो पहिलो मोडल ‘एलईभी-०१’ को नयाँ संस्करण ‘एलईभी-एक्स’ सार्वजनिक गर्न लागेको छ। कम्पनीले एलईभी-एक्स नाम दिइएको यो अल ह्वील ड्राइभ मोडल चाँडै नेपाली बजारमा ल्याउने तयारी गरेको हो।
नेपालका लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरले एलईभी-एक्सलाई आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्ने जानकारी दिएको छ।
एलईभी-एक्सको डिजाइन भने एलईभी-०१ जस्तै नै हुनेछ। यद्यपि, कम्पनीले यसमा केही महत्वपूर्ण प्रविधिगत र इन्टेरियर परिवर्तन गरिएको जनाएको छ।
कम्पनीका अनुसार एलईभी-एक्समा अगाडिको र पछाडिको भागमा गरी कुल १९८ किलोवाट क्षमताको ड्युल मोटर सेटअप राखिएको छ। साथै, यसमा ७७ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जुन एलईभी-०१ मा प्रयोग भएको ६७ किलोवाट आवरको ब्याट्री भन्दा १० किलोवाट आवरले बढी हो।
इन्टेरियर डिजाइनमा समेत परिमार्जन गरिएको बताइएको छ। एसी भेन्टसहितको नया इन्टेरियर तथा सुधारिएको डिजाइनले प्रयोगकर्तालाई थप आरामदायी अनुभव दिने कम्पनीको दाबी छ।
एलईभी-एक्समा २१० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ, जसले अफरोड ड्राइभिङमा समेत सहजता ल्याउने कम्पनीको विश्वास छ।
नेक्सन भेन्चरले सोही अटो शोमा एलईभी एक्ससँगै प्रिमियम ह्याचब्याक सेग्मेन्टको ‘एलईभी-०५’ पनि सार्वजनिक गर्ने तयारी गरेको छ। एलईभी-०५ ले नेपाली बजारमा बीवाइडी डल्फिन र नामी-०१ जस्ता विद्युतीय गाडीहरूसँग प्रतिस्पर्धा गर्नेछ।