© 2021-2024
१७ चैत, काठमाडाैँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा सुरु भएको छ ।
पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ । आजै वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा भइरहेको छ । यस वर्ष परीक्षामा कूल चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी रहेको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।
परीक्षा केन्द्रमा अत्यन्तै सीमित, आवश्यक र तोकिएका व्यक्ति परीक्षा समितिको अनुमति लिएर मात्रै अनुगमन गर्न पाइने भएको छ । परीक्षा हलभित्र कुनै पनि तस्बिर लिन नपाइने भएको छ । यस पटक सञ्चारकर्मीलाई पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरुको तस्बिर लिन पाइने तर परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।
उनले भने, “अनुगमन तथा तस्बिर लिने नाममा परीक्षा हलभित्र मानिस पस्दा विद्यार्थीको मनोबल गिर्छ, परीक्षार्थीलाई अवरोध हुने गरी तस्बिर लिँदा, विद्यार्थी टोलाउने, को आयो भनेर हेर्दा लेखिरहेको उत्तर पनि बिग्रने सम्भवना र गुनासा आएकाले यसवर्ष परीक्षा हलभित्र तस्बिर दिन नपाइने व्यबस्था गरेका छौँ ।” विद्यार्थीका लागि एक मिनेट, एक सकेण्डको पनि महत्व हुने भएकाले परीक्षा हलभित्र तोकिएको व्यक्ति र परीक्षा समिति तथा सम्बिन्धत निकायको व्यक्ति बाहेक पसेर अन्यलाई अनुगमन तथा तस्विर लिने नाममा जथाभावी परीक्षा हलमा नपठाइने भएको हो ।